हाँस्यकलाकार भन्छन्-‘देश विकास गर्न चार दिन काफी हुँदोरहेछ’ (फोटोफिचर) -

सामाजिक संजाल ‘सगुन डटकम’, जेष्ट फाउन्डेसन र एकदर्जन बढी हाँस्य कलाकारहरुको सक्रियतामा नुवाकोटको एक दुर्गम गाउँमा सातकोठे विद्यालय र चालिसवटा शौचालय निर्माण भएको छ ।
औखरपौवा–६को चित्रेभन्ज्याङमा रहेको महाकाली निमाविका केही भवनहरु विनाशकारी भूकम्पले ध्वस्त भएपछि सहयोगी संस्था,हाँस्यकलाकार र स्थानीयबासीको सहभागितामा चार दिनमा उक्त विद्यालय निर्माण सम्पन गरिएको हो ।
चर्चित टेलिश्रृंखला ‘मेरीबास्यै’, ‘भद्रगोल’का कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, सुरविर पण्डीत, पल्पसा डंगोल, बुद्धिमान तामाङ‘हनुमाने’, कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’, हरि निरौला ‘कक्रोज’, सागर लम्साल ‘बले’ लगायतका हाँस्य कलाकारहरुले चार दिनसम्म निरन्तर श्रमदान गरेर विद्यालय बनाएका हुन ।
विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै सिताराम कट्टेल ‘धुर्मुस’ले ‘सबै एकजुट भए विकास निर्माणका लागी पाँच बर्ष होइन चार दिन नै काफी हुनेरहेछ,’उनले भने–‘यस्तो विपतका बेला घर बनाउन घोषणा गर्नेहरुले गाउँमै गएर काम गर्नुहोला ।’ उनले सरकार नपुगेको स्थानमा आफूहरु पुगिरहेको दावी समेत गरे ।
गाउँमा सरसफाइ र शिक्षा आजको आवश्यक्ता रहेको कुञ्जना घिमिरे ‘सुन्तली’ले बताइन । अर्का कलाकार कुमार कट्टेल ‘जिग्री’ भन्छनः‘सरकारले हामीबाट पाठ सिकोस, पाँच बर्ष होइन चार दिनमा पनि भवन बन्दोरहेछ भन्ने उदाहरण हामीले देखाएका छौं ।’
सगुन डटकमका अखिल सिटौला, माधव चौंलागाइ, अजयबाबु शिवाकोटीले देश निर्माणमा हाम्रो सहयोग निरन्तर रहने बताए । ‘यो विद्यालय निर्माणको उदाहरणले अन्य नागरिकले पनि पाठ सिकुन ।’
विद्यार्थीमा खुशीयाली
२ सय ५० विद्यार्थी रहेको उक्त महाकाली निमाविका विद्यार्थीहरुले सरकारले घोषणा गरेको समय अगावै विद्यालय संचालनमा आएकोमा खुशी भएका छन् ।
साथै कलाकारहरुको समुहले झोला र कापी वितरण गरेपछि विद्यार्थीहरु हर्षित भएका छन् । प्राय सबै तामाङ जातीको बस्ती रहेको सो क्षेत्रका कुलेगाउँका ५५ घर ध्वस्त छन् । चित्रेगाउँका २ सय ४० मध्ये तीन घर भूकम्पले ध्वस्त बनाएको छ ।
टिनको अस्थायी घर टहरा बनेर बसेपनि गाउँका भिरालो जमिन भूकम्पले चिरापरेको र वर्षामा पहिरो आएर भत्केला भन्ने डर रहेको कुलेगाउँका सुब्बा भनेर चिनिने च्यामे तामाङले बताए ।
अधिकांश घर भत्केको र कतिपय विद्यार्थीका किताब पुरिएका छन् ।  कतिपय विद्यार्थी  भर्ना भएका छैनन् । किताबसहितका पाठ्यसामग्री छैनन् ।
सगुन डटकम, ज्येष्ठ फाउण्डेसनसहितका सहयोगि संस्थाले उपलब्ध गराएको झोला, कापी, कलम सहितका पाठ्यसामग्री सोही अवसरमा विद्यार्थीलाई वितरण गरिएको थियो ।
भूकम्पले आत्तिएको मन साथीहरु भेट्दा डर बिर्सेजस्तो भएको छ, सबै साथीहरु भर्ना हुने र भूकम्पको डर हटाउने बारेमा छलफल चलाउँदै कक्षाको पाठयक्रम अनुसारको पढाइ अघि बढे राम्रो हुन्थ्यो,– कक्षा ६ मा पढ्ने सुनिता तामाङले भनिन् ।
रुम टु रिडले बनाएको भवन सुरक्षित छ जहाँ नर्सरीदेखि तीन कक्षाको पढाइ हुन्छ । तर ६ वर्षअघि बनाएको चारकोठे भवन ध्वस्त बनेपछि नयाँ बनेको कोठामा बाँकी कक्षाको पढाइको प्रबन्ध मिलाइएको छ । 
सगुनको सक्रियता
अमेरिकामा बस्ने नेपालीहरुको सक्रियतामा तयार भइ विश्वभर फैलिएको सामाजिक सञ्जाल ‘सगुन डटकम’ले विनाशकारी महाभूकम्प लगत्तै राहत वितरण र भौतिक संरचना निर्माणमा क्रियाशिल भएको छ ।
अमेरिकामा रकम संकलन गरि ध्वस्त भएका गाउँहरुमा सहयोग पुर्‍याइरहेको संगुनका नेपालका प्रतिनिधि माधव चौलागाइले जानकारी दिए ।
आफ्नो संस्थाले शुरुमा राहत वितरणमा  ध्यान केन्द्रित गरेपनि अब विद्यालय निर्माणसंगै सामुदायिक हितका काममा ध्यान केन्द्रीत गर्ने बताए ।
समुदायको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको छ,–सगुन डटकमका नेपाल प्रतिनिधि अखिल सिटौलाले भने ।
ज्येष्ठ फाउण्डेसनका महासचिव जयराम सिग्देल र निर्देशक विकल्प पाठकले पनि विद्यालय निर्माणको सामग्री एवं अन्य व्यवस्थापनको सहयोग जुटाएर यस प्रकारको विद्यालय यति छिट्टै निर्माण हुनु ठूलो कुरा भएको धारणा राखे ।
- See more at: http://imagekhabar.com/samachar/detail/48212/33/.meroml#sthash.H8Nsrj21.dpuf
Share on Google Plus

About rita lama

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment