क्षेत्रपाटीकी दस वर्षीया रीता उप्रेती टीभीमा कार्टुन हेर्न पाएर दंग छिन्। क्षेत्रपाटीस्थित भक्त विद्याश्रममा कक्षा ६ मा पढ्ने उनी वैशाख १२ देखि टुँडिखेलमै बसिरहेकी छन्। ‘बस्दाबस्दै मलाई यही ठाउँ मन पर्न थाल्यो,’ उनले भनिन्, ‘यहाँ डर पनि लाग्दैन। टीभीमा कार्टुन हेर्न पनि पाइन्छ।’
बसिरहेको कोठा भत्किएकाले उनलाई घर जान डर लाग्छ। ‘म त आफूले सकेको काम स्वयंसेवक दाजु–दिदीलाई सघाउँछु,’ उनले भनिन्, ‘बिहान उठेर आफू बसेको वरिपरि सरसफाइ गर्ने, साना नानीहरूलाई खाना ल्याइदिने काममा सहयोग गर्छु।’ बुवाआमालगायत परिवारका अन्य सदस्य दिउँसो अन्यत्र काममा जाने भएकाले उनको स्कुल नलागुञ्जेल दिनभर खेल्दै रमाउने बताउँछिन्।
यस्तै सुर्खेतका नमराज शाही कहिले आफूलाई मन परेको चित्र बनाउँछन् त कहिले ध्यान गर्ने ठाउँमा गएर भजनकीर्तनमा अल्मलिन्छन्। बागबजारस्थित सहिद शुक्र सेकेन्डरी स्कुलमा ६ कक्षाका विद्यार्थी उनी आत्मशान्ति हुने ध्यान गर्ने बताउँछन्। ‘बिहान र बेलुका खाना, दिउँसो कहिले चिया, बिस्कुट, कहिले पाउरोटी दिनुहुन्छ,’ उनले दंग पर्दै भने, ‘धेरै कलर लगाएर चित्र बनाउन पाइन्छ। खेल्न र दौडिन जति पनि पाइन्छ।’
अर्का ३ वर्षे सरोज गिरी स्कुल खुलेपछि टुँडिखेलबाटै स्कुल जाने मनस्थितिमा छन्। टेबहालस्थित यी बालक बस्ने कोठा भत्किएकाले अब टुँडिखेलमै बस्ने बताउँछन्। उनीहरू मात्र होइन, तथ्यांकअनुसार टुँडिखेलमा १० वर्षमुनिका ६ सय ९० बालबालिका दिनभरि यस्तै विभिन्न क्रियाकलापमा रमाउँछन्। यसका लागि युनिसेफ, सेतो गुराँस, भिरायतनलगायत संघसंस्थाहरूले बालबालिकालाई मनोरञ्जन दिने काम गरिरहेका छन्। बालबालिकालाई शारीरिकसँगै बौद्धिक विकाससँग सम्बन्धित क्रियाकलाप नियमित गराइरहेको सेतो गुराँसकी संस्थापक अगाथा थापाले जानकारी दिइन्।
टुँडिखेलभित्र छुट्टै ठूलो पाल लगाएर दैनिक १० बजेदेखि ४ बजेसम्म नियमित क्रियाकलाप गराइरहेको उनले जानकारी दिइन्। उनीहरूले गुडिया खेलाउने, कथा भन्ने, ब्लक बनाउने, कलरिङ गर्ने लगायतका काममा बच्चालाई व्यस्त राख्ने गरेका छन्। बुधबारै पनि गायिका कोमल ओली आएर बालबालिकालाई नचाएर गएकी थिइन्।
टुँडिखेलस्थित शिविरको नेतृत्व गरिरहेका सेनाका कर्णेल प्रयोगजंगबहादुर राणाका अनुसार यहाँभित्र नाचगान गर्ने, चित्र बनाउने, बालबालिकालाई ध्यान गराउनेलगायत काम गरेर उनीहरूको मानसिक त्रास हटाउने प्रयास भएको छ। ‘उनीहरूलाई यस्ता विभिन्न खाले मनोरञ्जनका काममा व्यस्त राख्दा भूकम्पको त्रास विस्तारै बिर्सने भएकाले यस्तो गरिरहेका हौं,’ कर्णेल राणाले भने, ‘बच्चाहरू रमाउँदै विभिन्न खाले क्रियाकलापमा व्यस्त रहन्छन्।’
उनका अनुसार सामसुङ इन्टरनेसनसँग मिलेर ५० इन्चको एलसीडी टीभी राखिदिइएको छ। उनीहरूले दिनभर कार्टुन, फिल्म, गीत/संगीत देखाइदिने गरेका छन्। कहिले जादू देखाउने, चुट्किला भन्ने लगायतका क्रियाकलापले पनि बालबालिका रमाइरहेका छन्।
0 comments:
Post a Comment