काठमाडौं, १३ जेठ १८ वर्षदेखि लन्डनमा बस्दै आएका चितवनका मिलन भट्टराईले निजी जीवनमा धेरै प्रगति गरेका थिए । लन्डनमा रेस्टुरेन्ट व्यवसाय गर्दा पैसा पनि राम्रै कमाएका थिए । तर, उनको मनमा देशका लागि के गर्न सकिन्छ भन्ने प्रश्न सधैँ उठिरहेको थियो । प्रश्न उठे पनि उनी ठ्याक्कै यही काम गरेर देशका लागि आफ्नो तर्फबाट सहयोग पुर्‍याउँछु भन्ने निष्कर्षमा पुगेका थिएनन् । तर, १२ वैशाखको विनाशकारी भूकम्प उनका लागि देशमा योगदान पुर्‍याउने अवसर बन्यो । लन्डनमै रहेका वेला नेपालमा आठ हजारभन्दा धेरैको ज्यान जाने भूकम्प आएपछि मिलनले सोचे– अब यही मौकामा म नेपालमा गएर केही न केही योगदान गर्छु । उनले सोही दिन आफ्ना रेस्टुरेन्टको पाँचवटा ब्रान्चको एक दिनको व्यापार भूकम्पपीडितलाई सहयोग गर्ने मन बनाए र घोषणा गरे– म भूकम्पपीडितको आवास निर्माणमा ५१ लाख सहयोग गर्छु । त्यसपछि उनी नेपाल आए । ‘१८ वर्ष म लन्डनमा बसेँ, देशका लागि केही गर्न पाएको थिइनँ, १२ वैशाखमा आएको भूकम्पले देशका लागि केही गर्ने मौका दियो,’ सहयोग गर्नुको कारणबारे टेलिफोनमा उनले खुलाए, ‘विदेशमा बसेका नेपालीले आफ्नो देशलाई कति माया गर्छन् भन्ने उदाहरण पनि हो यो । यस्तो सहयोग गर्ने अवसर फेरि कहिले आउँछ, केही निश्चत छैन ।’ रकम सहयोग गर्ने घोषणा भयो, तर कहाँ गर्ने ? उनका अगाडि अर्को पेचिलो प्रश्न तेर्सियो । दैवी प्रकोप उद्धार कोषमा राखौँ, त्यो रकम पीडितकहाँ कहिले जाने हो ? आफूले दिएको पैसा कहाँ खर्च हुने हो ? जस्ता प्रश्न पनि उनको मनमा उठे । त्यसपछि उनले गरिब, दलित वा सुकुम्बासी बस्ती खोजी गरे । यस्तैमा उनी एकीकृत माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्पर्कमा पुगे । भट्टराईले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सुझाए, तर मिलनको मनले मानेन । त्यसपछि एउटा सुकुम्बासी बस्तीमा सहयोग गर्ने निर्णय गरे । सोहीअनुसार ११ जेठमा मिलनले गोरखा घ्याल्चोक–५ का सुकुम्मबासी बस्तीका ३४ परिवारलाई आवास बनाउन सहयोग गरे । सहायता रकमको चेक नेता डा. भट्टराई र सहयोगी भट्टराईले स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेका थिए । ‘सुकुम्बासी बस्तीमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ,’ उनले भने, ‘यो सहयोगले उनीहरूको आवास बन्नेछ । सुरक्षित घरमा बस्नेछन् ।’ ३४ वटा घर बनाउन पाँचसदस्यीय उपभोक्ता समिति बनेको छ । रकम दुरुपयोग नहोस् भनेर भट्टराईले समितिमा आफ्नो बुबालाई पनि राखेका छन् । ‘रकम सदुपयोग होस् र कामको प्रगतिबारे जान्न पाइयोस् भनेर मैले बुबालाई उपभोक्ता समितिमा बस्न लगाएको हुँ,’ उनले भने, ‘सुकुम्बासी बस्तीमा जतिसक्दो चाँडो राम्रा घर बन्नेछन् ।’ भट्टराईको योजनालाई डा. भट्टराईले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । उनले सुकुम्बासी बस्तीमा घर निर्माण नभएसम्म हरेक महिना एकपटक त्यहाँ पुग्ने प्रतिबद्धता जनाएका छन् । ‘भूकम्पपीडितका लागि मिलनजस्ता गैरआवासीय नेपालीको सहयोग महत्त्वपूर्ण छ,’ डा. भट्टराईले भने, ‘उहाँले दिएको सहयोगले एउटा सुकुम्बासी बस्तीमा खुसी ल्याउनेछ ।’ मिलनले भूकम्पपीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पुगेको भन्दै गैरआवासीय नेपालीहरूलाई आवास निर्माणतर्फ सहयोग केन्द्रित गर्न आग्रह गरे । अर्को साता लन्डन फर्कने योजनामा रहेका मिलनले सुकुम्बासी बस्तीमा घर नबनेसम्म निरन्तर चासो राख्ने बताए । 
Share on Google Plus

About rita lama

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment