-सबै ५५७ विद्यालयका
भवन भत्किए
-कम्तीमा दर्जन ठाउँका बासिन्दा अन्यत्र सार्नुपर्ने
-७९ मध्ये ५२ स्वास्थ्य चौकी पूर्ण ध्वस्त
-जिल्लाभर पालमुनि प्रहरी
-सदरमुकामका २५ मध्ये २३ सरकारी भवन काम नलाग्ने
-धेरैजसो ग्रामीण सडक क्षतिग्रस्त
-विद्युत् आयोजनाहरू भत्किए
महाभूकम्पले सबैभन्दा प्रभावित सिन्धुपाल्चोकमा ६३ हजार घर ध्वस्त भएको प्रारम्भिक अनुमान छ । बचेका छन् करिब ५ हजार घर मात्रै । पहिरोको जोखिमले उत्तरी भेकका बस्तीहरू धमाधम रित्तिँदै गएका छन् । सबैजसो विकास संरचना ध्वस्त छन् । सदरमुकामका सबै कार्यालय भत्केपछि सरकारी सेवा अवरुद्ध छ । कृषि सेवा केन्द्र, वन, पशुलगायत सदरमुकाम बाहिरका कार्यालयसमेत भत्केका छन् । प्रहरी, स्वास्थ्य चौकी र अस्पताल पालमुनि सञ्चालनमा भइरहेका छन् । विद्यालयका सबै ५ सय ५७ भवन ध्वस्त भएका छन् ।
मुख्य राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध छन् । बाह्रबिसे—तातोपानी खण्ड सडकमा ठूलो पहिरो चलिरहँदा नेपाल—चीन हिमालपार व्यापार ठप्प छ । सदरमुकाम तथा ग्रामीण भेकमा खानेपानीका पाइप फुटेका छन् । गुम्बा, मन्दिर, घ्याङ, चर्च, मानेजस्ता धार्मिक तथा सांस्कृतिक आस्थाका संरचना सबै भत्केको छ । जलविद्युत् आयोजना बन्द छन् । हेलम्बु, तातोपानी, मेलम्ची, चौतारालगायत व्यापारिक केन्द्र तथा पर्यटकीय स्थलमा होटलहरू भत्केका छन् । सधंै चहलपहल रहने अरनिको राजमार्गको खाडिचौर बजार सुनसान छ । गाविस भवन सबै भत्केकाले स्थानीय निकायले दिने सुविधा बन्द छ ।
अस्तव्यस्त सदरमुकाम


बजारवासीले आफ्नो सम्पत्तिको सुरक्षा गरिदिन प्रशासनमाथि दबाब दिइरहेका छन् । उनीहरूले खस्न लागेका छत र भत्कन लागेका घरहरू हटाइदिन भनिरहेका छन् । बिहीबार सदरमुकाम आएका प्रधानमन्त्री सुशील कोइरालाको टोलीसँग जिल्ला दैवीप्रकोप उद्धार समितिले क्रेन उपलब्ध गराउन माग गरेको थियो । ‘बजार क्षेत्रको जोखिम हटाउन क्रेन र दक्ष जनशक्तिबिना सम्भव छैन । सग्लो देखिने घरहरू पनि चिराचिरा परेकाले डोजर लगाएर काम गर्न पनि खतरा छ,’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले भने, ‘सरकारी कार्यालय नै कसरी सञ्चालन गर्ने समस्या भन्ने छ ।’
रित्तै कारागार
भूकम्प गएपछि फरार सिन्धुपाल्चोकका सबै १ सय १६ बन्दी तथा कैदी सम्पर्कविहीन छन् । जिल्ला कारागारको पछिल्लो कम्पाउन्ड भत्केपछि त्यही मौका छोपेर कैदीहरू फरार भएका हुन् । ढोकामा ताल्चा झुन्डिरहेको छ । कारागारचाहिँ खाली छ । ‘आफ्नै ज्यान जोगाउन कठिन भयो । पछाडिको कम्पाउन्ड भत्किएपछि उनीहरू भागे,’ भूकम्प आउ‘दा भित्रै रहेका जेल प्रमुख ओम सुवेदीले भने, ‘अहिले ११ जना सम्पर्कमा छन् ।’
जेल प्रशासनका अनुसार ठूला अपराधीका रूपमा सजाय भोगिरहेका ‘डन’ समेत फरार छन् । ‘कुनै जेलमा एक महिनाभन्दा बढी राख्न नसकिएका कैदीहरू दुई दिनअघि चौतारा ल्याइएका थिए,’ एक कर्मचारी भन्छन्, ‘उनीहरू सहज रूपमा फरार भए । महिला जेल भत्केको छैन । ताला लगाइएको छ । तर उनीहरू पनि छैनन् । केहीचाहिँ दुई चार दिन सदरमुकाममै बसेका थिए । ‘अहिले उनीहरू कोही छैन,’ जेलर सुवेदी भन्छन्, ‘सम्पर्कमा नआउनेलाई सूचना जारी गरेर बोलाइन्छ । नआए पक्राउ आदेश जारी गर्छौं । जेलबाट भागेको अभियोगमा थप सजाय हुन्छ ।’
६६ हजार परिवार घरबाहिर
जिल्लामा यतिखेर ६६ हजार परिवार घरमा बसेका छैनन् । उनीहरू पाल, टेन्ट र जस्तापाताले बनाएको अस्थायी संरचनामा बस्दै आएका छन् । सीमित परिवार राजधानी गएका छन् । अधिकांश खेतबारी र सार्वजनिक स्थलमा छन् । भूकम्प आइरहेकाले नभत्केका घरमा पनि उनीहरू बस्न डराइरहेका छन् । उनीहरूले मकैबारी फाँड्दै अस्थायी बसोबास सुरु गरेका छन् । धेरैजसो परिवारले घरमा पुरिएको अन्न झिकेका छन् । न्यून वर्ग र अन्नपात झिक्न नसकेका परिवार राहतमा भर परेका छन् । प्रारम्भिक चरणको राहत सबैजसो गाउँमा पुगेको छ । व्यक्तिगत सम्पर्क र संघसंस्थाले आफूखुसी राहत वितरण गरेकाले कसैले धेरै कसैले थोरै पाउने समस्या देखिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको दाबी गरेको छ ।
रित्तिँदै बस्ती
भूकम्पसँगै उत्तरी भागमा ठूला पहिरोका कारण बस्तीहरू मानवबिनाका उजाड स्थल बन्नै गएका छन् । पश्चिम भेकको बरुवा, बासखर्क, दुवाचौर, भोताङ, गुन्सालगायत गाउँ पहिरोको उच्च जोखिममा छन् । मध्य भेगका हेलम्बु, गोल्चे, गुम्बा, पाङताङ, हगाम, बराम्ची, सिंंपालकाभ्रेलगायत त्यस्तै समस्यामा छन् । पूर्वी भेगको हालत पनि समान छ । सधैं व्यस्त रहने तातोपानी नाका अहिले मानव बस्तीविहीन छ । तातोपानी, लिपिङ, दुगुनागडी तथा लिस्तीको माथिल्लो भेकका बासिन्दा धेरै राजधानी तथा सुरक्षित स्थानमा लागेका छन् । तातोपानी बजारका ठूला होटल र घरहरू खाली छन् । तातोपानी—लिपिङको तीन किमि क्षेत्र अहिले सुनसान छ । पूर्वगाविस अध्यक्ष अमृतकुमार खड्काका अनुसार कोदारी, दुगुना, तासीथान, धाङा, खार्कु, बोक्चेनमा थोरै मात्र बासिन्दा बाँकी छन्, जो अति नै त्रसित भएर बाँचिरहेका छन् । गाउँलेहरूलाई सेनाको हेलिकप्टरले राजधानी र सुरक्षित स्थानतर्फ लगेको हुन् । ‘अब त गाउँमा २५ प्रतिशत मान्छे होलान्,’ गाविस सचिव डम्बरबहादुर श्रेष्ठ भन्छन् ।
हेलम्बुको मेलम्ची घ्याङका सबै एक सय ४० घर ध्वस्त छन् । जमिन धाँजा फाटेकाले स्थानीय आतंकित छन् । शेर्पाथाङ, तार्केघ्याङलगायत ट्रेकिङ रुटका सबै होटल भत्केका छन् । बरुवाको याङरी, रिपार, बोलगाउँलगायत बस्ती बढी जोखिममा छन् । त्यस्तै भोताङको लार्केलाई पहिरोको बढी खतरा छ । त्यहाँका बासिन्दालाई अन्यत्र सार्न थालिएको छ । ‘उनीहरूले राहत होइन, सुरक्षित स्थनको माग गरिरहेका छन्,’ मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा भन्छन्, ‘बरुवाको अवस्था साह्रै टीठलाग्दो छ । गाउँले सुरक्षित स्थान खोजिरहेका छन् । गुम्बाको गुण्डेगाउँ, बोल्दे र तेम्बाथानमा लगातार पहिरो चलिरहेको छ । गोल्चेका लिदी, सेलाङको नाम्फाका बासिन्दाले गाउँ छाड्न थालेका छन् । बस्तीहरूमा ठूला—ठूला धाँजा फाटेकाले जिल्लावासी त्रसित छन् । ‘मान्छेहरू जसरी आतंकित भएर सुरक्षित स्थान खोजेका छन्, त्यसबाट पुरै बस्तीहरू खाली हुन सक्छन्,’ स्थानीय विकास अधिकारी युवराज कट्टेल भन्छन्, ‘शनिबारको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले ११ गाविसका केही बस्तीलाई अन्यत्र सार्नुपर्ने ठहर गरेको छ ।’ ‘हामीले जिल्लाका खतरनाक ठाउँ पहिचान गरेर उद्धार समितिलाई जानकारी गराएका छौं,’ गोरखनाथ गणका प्रमुख सुरेशकुमार कार्कीले भने, ‘धेरै बस्तीहरूमा धाँजा फाटेको छ ।’
सबै विद्यालय ध्वस्त
जिल्लाका सबै ५ सय ५७ विद्यालय ध्वस्त छन् । पहिलो दिनको भूकम्पले कम क्षति पुगेका भवनसमेत पछिल्लाले पूरै भत्के । दोस्रो भूकम्प अघिको तथ्यांकअनुसार २२ शिक्षक र ३ कर्मचारीको मृत्यु भएको छ । तीमध्ये १५ जना महिला छन् । शनिबारसम्म प्राप्त जानकारीअनुसार १०१ जना विद्यार्थीले ज्यान गुमाएका छन् । मेलम्ची खानेपानी आयोजनाले सुप कार्यक्रमअन्तर्गत पश्चिम भेगीय १४ गाविसका अधिकांश विद्यालय भवन निर्माण तथा मर्मत गरेको थियो । भग्नावशेष पन्छाउन र प्रयोगमा आउने सामान संरक्षण गर्न कतैबाट पहल भएको छैन । शिक्षा कार्यालयले विद्यालयका स्रोत व्यक्ति (आरपी) खटाएर अभिभावकसँग समन्वय गराउने जिम्मा दिएको थियो । आगामी जेठ १६ बाट विद्यालय सञ्चालन गर्ने सरकारको योजना भए पनि पूर्व तयारी केही देखिँदैन । निजी विद्यालयका भवन पनि प्राय: सबै भत्केका छन् ।
स्वास्थ्य संस्था बाँकी रहेन
जिल्लाका ७९ स्वास्थ्य चौकीमध्ये ५२ वटा पूर्ण ध्वस्त छन् । तीन स्वास्थ्य चौकीमध्ये मेलम्चीको मात्रै प्रयोग गर्न सकिने अवस्थामा छ । स्वास्थ्य चौकीहरू सबै पालमुनि चलेका छन् । जिल्ला अस्पतालका प्रमुख डा: सागरकुमार राजभण्डारीका अनुसार भवनहरू नहुँदा औषधि संरक्षणमा बढी समस्या छ । जिल्ला अस्पताल चर्केपछि सदरमुकामको टुँडिखेलमा चलाउन थालिएको छ । यातायातको अभाव र संरक्षण समस्याले ५० प्रतिशत स्वास्थ्य संस्थामा औषधि पठाउन नसकेको डा. राजभण्डारीले जानकारी दिए । ‘अब स्वास्थ्य सेवा कसरी प्रदान गर्ने सोच्न सकिएको छैन । नियमित खोप कार्यक्रम भने सञ्चालन गर्ने तयारीमा छौं,’ उनले भने ।
पालमा प्रहरी
जिल्लाका १७ स्थानमा प्रहरी पालमा बसेर काम गरिरहेका छन् । प्रहरी नायब उपरीक्षक दिपककुमार खरेलका अनुसार जिल्लामा चार इलाका कार्यालय, १३ चौकी र चार अस्थायी पोस्ट छ । प्रहरीका आफ्नै स्वामित्वका नौ भवन भत्केका छन् ।
७० मेगावाट उत्पादन बन्द
महाभूकम्पबाट सिन्धुपाल्चोकमा उत्पादन गरिरहेका र निर्माणाधीन अवस्थाका जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन् । जिल्लाभरका आयोजनाबाट करिब ७२ मेगावाट बराबरको विद्युत् उत्पादन बन्द भएको छ । ४५ मेगावाटको भोटेकोसी, १० दशमलब पाँच मेगावाटको सुनकोसी, छ दशमलव पाँच मेगावाटको पुरानो चाकु, तीन दशमलव पाँच मेगावाटको भैरवकुण्ड, तीन दशमलव दुई मेगावाटको बराम्ची, एक मेगावाटको माथिल्लो हाँडिखोलालगायतका आयोजना बन्द भएका हुन् । सामान्य क्षति पुगेको इन्द्रावती तेस्रोको मर्मतपछि उत्पादन सुरु भएको छ ।
निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोसी, २२ मेगावाटको माथिल्लो चाकु, दुई दशमलव छ मेगावाटको सानिमालगायत आयोजनालाई भूकम्पबाट करोडौंको क्षति पुगेको छ । सबै भन्दा बढी क्षति ४५ मेगावाटको भाटेकोसीमा भएको छ । ‘पेनस्टक’ पाइप फुटेर पानी बाहिर निस्केपछि पावर हाउस, आवास भवन, कार्यालयलाई क्षति पुर्याएको छ । भोटकोसी कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिका अनुसार पुनर्निर्माण गरेर उत्पादन सुरु गर्न एक वर्ष लाग्ने छ । माथिल्लो चाकूमा पनि ठूलो नोक्सानी भएको छ । शिवश्री हाइड्रोका कार्यकारी अध्यक्ष उमेश कसजुका अनुसार ट्रान्समिसन लाइन, पावर हाउस, सर्जट्यांक, ‘पेनस्टक’ पाइप क्षतिग्रस्त छन् ।
0 comments:
Post a Comment