प्रधानमन्त्री सुशिल कोइरालाले भुकम्प प्रभावितहरुको नाममा संकलन भएको राहत रकम दुरुपयोग गर्ने मन्त्री र कर्मचारीलाई जेल हाल्ने चेतावनी दिएका छन् ।
सोमबार विहान भुकम्प प्रभावितहरुको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम प्रदान गर्न बालुवाटारस्थित आफ्नै निवासमा उपस्थित भएका प्राइम बैंक र काष्ठमण्डप विकास बैंकका पदाधिकारीसामु प्रधानमन्त्री कोइरालाले राहत रकम दुरुपयोग हुन नदिने तथा कसैले दुरुपयोग गरेको सूचना पाए सिधै जेल हाल्ने बताएका हुन् ।
उनले राहत रकम दुरुपयोग हुन नदिन विभिन्न तहमा अनुगमन संयन्त्र बनाइएको भन्दै अनुगमन संयन्त्रको आँखा छलेर कसैले भ्रष्टाचार गरे आफूले तत्काल कारवाही गर्ने बताए ।
सरकारले राहत वितरण गर्दा दलीय आस्थाका आधारमा कसैमाथि पनि विभेद नगर्ने पनि उनले बताएका छन् । प्रधानमन्त्री कोइरालाले भुकम्पबाट पुगेको क्षतिको पुनर्निमाणका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिए ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम बैंकले २५ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकका अध्यक्ष उमेश श्रेष्ठले सहयोग रकमको चेक प्रदान गेका थिए ।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघले २५ लाख, दिपकर फाउण्डेशनले १० लाख, काष्ठमण्डप विकास बैंकले ५ लाख तथा नेपाल चलचित्र विकास बोर्डले ५ लाख रुपैयाँ कोषमा प्रदान गरेका छन् ।
0 comments:
Post a Comment